काठमाडाैं । प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले गठबन्धन सरकारलाई क्यान्टोनमेन्ट भ्रष्टाचार र गाैर हत्याकाण्डकाे छानबिन गर्न चुनाैती दिनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले साे चुनाैति दिनुभएकाे हाे । सरकारका न्यूनतमा साझा कार्यक्रममा भ्रष्टाचार छानबिनका कुरा उठाइएकाेमा खुशी लागेकाे बताउँदै उहाँले भन्नुभयाे - 'भ्रष्टाचारकाे छानबिन राम्राे कुरा हाे, खुशी लाग्याे, थुप्रै कुरा उठेका छन्, क्यान्टोनमेन्टकाे पनि छानबिन हुनुपर्छ भन्ने कुरा उठेकाे छ, यसपल्ट पक्कै पनि गठबन्धनकाे सरकारले याे कुराकाे छिनाेफानाे गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।'
अन्य क्षेत्रकाे भ्रष्टाचारबारे छानबिन गर्न समेत चुनाैति दिँदै उहाँले भन्नुभयाे - 'ललिता निवासकाे गर्छ हाेला, मातातिर्थकाे पनि गर्छ हाेला, सर्दु जलाधार क्षेत्रको पनि गर्छ हाेला ।'
द्धन्दपीडितलाई न्याय दिन पनि उहाँले सरकारसँग माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'द्धन्दपीडितलाई बुट्टे खादा लगाइदिएर अल्मलाउन खाेजिएकाे छ, सरकारले उपचार गराेस्, यदि सरकारले सक्दैन भने शरीरमा गाेली गालेकाहरुलाई थापाथली बढाइदिनुस् म गर्छु ।'
दण्डहीनता र अराजकता अन्त्य गर्ने भनिरहेको गठबन्धनको सरकारमाथि गाैर हत्याकाण्ड छानबिन गर्ने माैका आएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'गौर हत्याकाण्डको छानविन गर्नुस्, निर्दोष र निहत्था मारिएका छन्, घाइतेको अवस्था के छ ? पीडितका परिवारको अवस्था के छ ? अराजकताकाे अन्त्य गर्छु भन्नुभएकाे छ त छानबिन गर्नुस् न कसले हत्या गराएकाे हाे ?'
