काठमाडाैं । प्रमुख प्रतिपक्षी कस्ताे हुनुपर्छ ? केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा गर्नुभएकाे सम्बाेधनले याे प्रश्नकाे जवाफ दिएकाे छ । संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका निक्कै महत्वपूर्ण हुन्छ । किनकी सरकारका गलत कामविरुद्ध खबरदारी गर्नु, राम्रा काममा सहयाेग गर्नु र सरकारलाई सही बाटाे देखाउनु प्रतिपक्षीकाे मुख्य धर्म हाे । यसकारण प्रतिपक्षीकाे आवाज सधै बलियाे हुनुपर्छ ।
सरकारबाट बाहिरिएपछि पहिलाेपटक प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रतिनिधि सभालाई सम्बाेधन गर्नुभएका ओलीले जिम्मेवार, परिपक्क र बलियाे प्रतिपक्षीकाे पूर्ण झल्काे दिनुभयाे । उहाँले सम्बाेधन गर्नुभएका हरेक शब्द शब्दले सरकारलाई खबरदारी गरिरहेका थिए । उहाँका प्रश्नले सरकारलाई चुनाैती दिइरहेका थिए ।
यसअघि प्रतिपक्षमा रहेकाे नेपाली कांग्रेसले अहिले गठबन्धन सरकारकाे नेतृत्व गरिरहेकाे छ । उसलाई साथ दिएका छन् । माओवादी केन्द्र जसपा र माधव समूहले ।विगतमा प्रतिपक्षीका रुपमा कांग्रेसकाे भूमिका कमजाेर रह्याे । राष्ट्रियता र जनजिविकाका सवाल भन्दा पनि बाटाेका मुद्दामा कांग्रेसले ध्यान केन्द्रित गर्याे । सहीलाई सही र गलतलाई गलत भन्न हिच्किचायाे । प्रतिपक्षमा बसेपछि सरकारकाे आलाेचना गर्न पाइन्छ । तर सरकारले कामै गरेन जसरी कांग्रेस प्रस्तुत भयाे । यसैगरी प्रचार गर्याे । तत्कालीन नेकपाभित्रकाे प्रतिपक्षी त केपी ओलीलाई कसरी खुल्याउन सकिन्छ भनेरै लागे ।
हिजाे सरकारमा भएकाे एमाले आज प्रतिपक्षमा छ । तीन वर्षपछि प्रमुख प्रतिपक्षी नेताको हैसियतले राेष्टममा उभिएर बाेल्नुभएका ओलीले विगतमा आफू नेतृत्वकाे सरकारले गरेका कामकारबाहीमाथि सत्तारुढ गठबन्धनले गरेकाे व्यवहारका मसिना मसिना विषय केलाउनुभयाे । आफू नेतृत्वकाे सरकारले गरेका र थालेका राष्ट्रियता, जनजिविका र जनमुखि कार्यक्रम अगाडि बढाउन उहाँले सरकारलाई खबरदारी गर्नुभयाे । राष्ट्रियताकाे विषयलाई समस्याकाे रुपमा नलिन उहाँले सरकारलाई चेतावनी दिनुभयाे । जनविराेधी काम गरे त्यसकाे जवाफ दिने चेतावनी पनि दिनुभयाे ।
सरकारका न्यूनतम साझा कार्यक्रमकाे प्रतिवेदन साथमै राख्नुभएका ओलीले त्यसभित्रका एक-एक विषयकाे व्याख्या गर्नुभयाे,सरकारलाई प्रश्न गर्नुभयाे, जवाफ माग्नुभयाे र गल्ती सच्चाउन सचेत गराउनुभयाे । धेरैले भन्ने गर्छन् - 'केपी ओली आफैमा एउटा सिंगाे विश्वविद्यालय हाे, ज्ञानकाे खानी हाे, जाे हरेक विषयकाे जानकार छ ।' केपी ओलीसँग हरेक विषयकाे ज्ञान छ यसमा दुई मत छैन । यतिमात्र हाेइन उहाँले तथ्यसहित आफ्नाे प्रस्तुति दिनुहुन्छ । आज पनि उहाँले यसैगरी सम्बाेधन गर्नुभयाे । आफू नेतृत्वकाे सरकारले गरेका राम्रा कामकाे तथ्य ताेडमाेड गर्ने सरकारलाई खबरदारी गर्नुभयाे ।
भारतसँग वार्ता गरेर नेपालकाे आफ्नाे भूमि फिर्ता ल्याउन सरकारसँग आग्रह गर्नुभयाे । खुट्टा नकमाउन सचेत गराउनुभयाे । करिब डेढ घण्टाकाे सम्बाेधनमा उहाँले कालापानी, काेभिड खाेप, एमसीसी, भ्रष्टाचार, सरकारका गतिविधि, लगायत लगभग सबै विषय समेट्नुभयाे । अहिले सत्ता गठबन्धनमा रहेका नेताहरुका विगत पनि उहाँले सम्झाइदिनुभयाे ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन ?
सरकारका न्यूनतम साझा कार्यक्रममा लिम्पियाधुरा,लिपुलेक र कालापानीलाई समस्यामा राखिएकाे भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन ? लिम्पियाधुरा,लिपुलेक र कालापानी समस्या हाे भनेर समस्यामा राख्नुभयाे के याे समस्या हाे ? हाम्राे अभिन्न भूभाग पवित्र भूभाग समस्या हुन्छ ? त्यसो भए छोडिदिँदा समस्या समाधान हुन्छ ?' । स्पष्ट रुपमा हाम्राे भूमि हामी फिर्ता लिन्छाैं भन्नुपर्नेमा याे समस्या हाे समाधान गर्छाैं भनिएकाे असन्तुष्टि जनाउँदै ओलीले भन्नुभयाे - 'यस्ताे खुट्टा कमाउने कसले बनायाे ?' याे सरकारले भूमि फिर्ता नल्याए आफूहरुले ल्याउँने बताउँदै उहाँले भन्नुभयाे - 'तपाईंहरूले सक्नुभएन भने डेढ वर्ष पख्नुस्, हामी छौँ, हाम्राे भूमि हामी ल्याउँछाैं ।'
प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ?
ओलीले सरकारका साझा कार्यक्रममा कांग्रेकाे अनुहार कतै नदेखेकाे टिप्पणी गर्नुभयाे । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’काे संज्ञा दिँदै उहाँले सदन चलेका बेला बाहिरबाट किन ल्याएकाे भन्दै प्रश्न गर्नुभयाे । आफू नेतृत्वकाे सरकारमा एमसीसी भनेर कराउनेहरुले सरकारका साझा कार्यक्रममा एमसीसी उल्लेख नगरेकाे भन्दै ओलीले प्रश्न गर्नुभयाे - 'केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेकाे क्लिप खाेजेर वातावरण बनाउन खाेज्नुहुन्छ, गाली गर्ने अनि फेरि मेरै क्लिप बनाएर वातावरण बनाउन खाेज्ने ? तपाईंहरुकाे साझा कार्यक्रममा एमसीसी के गर्नुहुन्छ भन्नुपर्दैन ?' प्रधामन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै ओलीले भन्नुभयाे - 'नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ, १ सय ६५ सिट छ, भरर ताली बजाइदिँदा भइहाल्छ, कसैको मद्दत चाहिँदैन, त्यो १ सय ६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ? त्यही भएर म भन्छु जस्केलाबाट छिर्ने काम नगर्नुस्,सरकारमा त छिर्नुभयाे भयाे सबै कुरामा जस्केलाबाट छिर्न खाेज्ने ?'
असामान्य ढंगले सरकार बनेकाेले सत्ता गठबन्धनका नेता हाैसिए
लाेकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा भएपनि असामान्य ढंगले सरकार बनेकााले सत्ता गठबन्धनका नेता हाैसिएका पनि ओलीले बताउनुभयाे । केटाकेटी दशैंमा उफ्रिएजस्ते गरिरहेका बताउँदै उहाँले भन्नुभयाे - 'लाेकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा हाे, तर असामान्य ढंगले सरकार परिवर्तन भएकैले हाेला सत्ता गठबन्धनका मित्रहरु असाध्यै हाैसिनुभएकाे छ, दशैं आएर केटाकेटी आँगनमा नाचेजस्तै नाच्दा ठिक्क छ ,करिब एक महिनासम्म पनि धन्यवाद र बधाई पाइरहेकाे छ सरकारले, सायद केही नगरेकाे भएर हाेला ।' भूमिसम्बन्धी समस्या समाधान आयाेग भंग गर्नेजस्ता काम गरेकाे सरकारलाई केही गरेन भन्न पनि नमिल्ने उहाँले बताउनुभयाे ।
म देश र जनताकाे सेवाका लागि जन्मेकाे हूँ
आफू प्रधानमन्त्री हुन नजन्मिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'म यो देश र देशका जनताको सेवाका निम्ति जन्मिएको हूँ, म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ, प्रधानमन्त्री त म ६४ वर्षसम्म थिएनँ, भइयो, फेरि पनि जालझेल गठबन्धनको संस्कृतिले हटाएको थियाे ।' आफू विरुद्ध अनेक प्रहार भइरहेपनि ति प्रहारले केही फरक नपार्ने बताउँदै उहाँले भन्नुभयाे - 'नेपाली जनतालाई सुखी बनाउने उद्देश्य बोकेर हिँडेको मान्छेलाई यस्ता सानातिना गाली गलौजले खासै फरक पर्दैन, म आफ्नो उद्देश्यमा केन्द्रित छु ।'
जनादेशले प्रधानमन्त्री बनेकाे थिएँ,फेरि असाधारण जनमतसाथ आउँछु
फेरि पनि असाधारण जनतमतसाथ आफूले सरकारकाे नेतृत्व गर्ने पनि उहाँले बताउनुभयाे । ओलीले भन्नुभयाे - 'मैले पहिले पनि भनेकाे थिएँ म झ्यालबाट हाेइन, जस्केलाबाट हाेइन,सिँढीबाट हाेइन,भेण्टिलेसनबाट हाेइन मूल ढाेकाबाट, मूल गेटबाट आउँछु, फेरि पनि सुनिराख्नुभए हुन्छ असाधारण जनतमत साथ फेरि पनि मूल गेटबाट, मूल ढाेकाबाट आउनेछु ।' आफू जनताकाे जनमतबाट प्रधानमन्त्री भएकाे उहाँले बताउनुभयाे । शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै उहाँले भन्नुभयाे - 'राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन, मेरा काम हेरेर मत दिएर नेपाली जनताले मलाई प्रधानमन्त्री बनाएकाे हाे, विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन, म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएकाे थिइनँ, उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री पद आएको होइन, म परमादेशमा हाेइन जनादेशबाट प्रधानमन्त्री भएकाे हूँ ।'
आगाेसँग नखेल्नु भन्ने प्रचण्डलाई जवाफ
ओलीले प्रचण्डकाे नाम नलिइ भन्नुभयाे -'सरकार परिवर्तन हुनासाथ सत्ता पक्षका नेताले यसै राेष्टमबाट भन्नुभयाे - हाेसियार ! म आगाे हूँ मसँग नखेल नत्र.. मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएकाे डढेलाे म सम्झिन्छु, उहाँ आगाे हाे था छ डढेलाे लगाउनुहुन्छ, तर एक-दुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहाेस्, यस्ताे डढेलाे निभाउन हामीलाई पनि आउँछ,पानी खन्याएपछि निभाइन्छ ।' केही दिन अघि बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू आगो भएकाले आगोसँग नखेल्न सचेत गराउनुभएकाे थियाे । ओलीले आज त्यसकाे जवाफ दिनुभएकाे हाे ।
क्यान्टोनमेन्ट भ्रष्टाचार, गाैर हत्याकाण्डकाे छानबिनदेखि द्धन्दपीडितका कुरा
ओलीले गठबन्धन सरकारलाई क्यान्टोनमेन्ट भ्रष्टाचार र गाैर हत्याकाण्ड लगायत काण्डकाे छानबिन गर्न पनि चुनाैती दिनुभयाे । न्यूनतमा साझा कार्यक्रममा भ्रष्टाचार छानबिनका कुरा उठाइएकाे बताउँदै उहाँले भन्नुभयाे - 'भ्रष्टाचारकाे छानबिन राम्राे कुरा हाे, खुशी लाग्याे, थुप्रै कुरा उठेका छन्, क्यान्टोनमेन्टकाे पनि छानबिन हुनुपर्छ भन्ने कुरा उठेकाे छ, यसपल्ट पक्कै पनि गठबन्धनकाे सरकारले याे कुराकाे छिनाेफानाे गरेर नेपाली जनतालाई जवाफ दिनेछ,ललिता निवासकाे गर्छ हाेला, मातातिर्थकाे पनि गर्छ हाेला, सर्दु जलाधार क्षेत्रको पनि गर्छ हाेला ।' क्यान्टोनमेन्टमा प्रचण्ड, गाैरमा उपेन्द्र यादव, ललिता निवासमा माधवकुमार नेपाल र बाबुराम भट्टराई, मातातिर्थ जग्गा प्रकरण पनि बाबुरासँग सम्बन्धित काण्ड हुन् ।
द्धन्दपीडितलाई न्याय दिन आग्रह गर्दै उहाँले भन्नुभयाे - 'द्धन्दपीडितलाई बुट्टे खादा लगाइदिएर अल्मलाउन खाेजिएकाे छ, सरकारले उपचार गराेस्, यदि सरकारले सक्दैन भने शरीरमा गाेली गालेकाहरुलाई थापाथली पठाइदिनुस् म गर्छु ।' दण्डहीनता र अराजकता अन्त्य गर्ने भनिरहेको गठबन्धनको गाैर हत्याकाण्ड छानबिन गर्न चुनाैती दिँदै ओलीले भन्नुभयाे - 'गौर हत्याकाण्डको छानविन गर्नुस्, निर्दोष र निहत्था मारिएका छन्, घाइतेको अवस्था के छ ? पीडितका परिवारको अवस्था के छ ? अराजकताकाे अन्त्य गर्छु भन्नुभएकाे छ त छानबिन गर्नुस् न कसले हत्या गराएकाे हाे ?'
मेराे पार्टीका नेतालाई मन्त्री बनाइदिनुस्
न सत्ता न प्रतिपक्षी भूमिका जस्ताे गरी बसेका माधवकुमार नेपालकाे समूहकाे नाम नलिइ उनीहरुलाई मन्त्री बनाइदिन ओलीले देउवासँग आग्रह गर्नुभयाे । 'मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू, तिनीहरुलाई मन्त्री दिनुस् न, किन बिलम्ब गर्नुभएको ? मन्त्री खान हिरिक-हिरिक भएका छन्,पछिपछि कुँदेका छन्, पछाडि त लगाइसक्नुभयो, मन्त्री खान पाउँ भनेका छन्, बिहान बेलुका चाकडी गरेका छन्, मन्त्री दिनुस प्लिज ! मेरो दलमा घाटा भएको म सहुँला ।'
गरिबमाथि हान बञ्चराे
सरकार आउने वित्तिकै भूमिहीन सुकुम्बासीमाथि बञ्चराे प्रहार गरेकाे उहाँले बताउनुभयाे । गरिबमाथि हान बञ्चराे भन्ने हिसाबले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयाेग भंग गरे लाखाैं लाख सुकुम्बासीकाे गला रेटेकाे उहाँले बताउनुभयाे ।
मेराे सरकारले ल्याएकाे खाेप चाँडाे चाँडाे नलगाएर फागुनकाे निर्वाचन राेक्न खाेजेकाे ?
प्रमुख प्रतिपक्षी नेता ओलीले आफू नेतृत्वकाे सरकारले ल्याएकाे खाेप वर्तमान सरकारले लगाउन पनि नसकेकाे बताउनुभयाे । साझा कार्यक्रममा खोपलाई महत्वपूर्ण योजनाका रुपमा राखेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'मेराे सरकारले १ कराेड बढी खाेप ल्याइदिएकाे छ, सबैलाई निःशुल्क दिने भनेर घाेषणा गरिसकेकाे छ, त्यसलाई निरन्तरता दिन्छाैं भन्नुकाे सट्टा नि:शुल्क खोप दिन्छाैं भनेर झुट कुरा गर्ने ? खोप त ल्याइदिएको छ, थुपारदिएको छ, चैतसम्म किन पर्खिने लगाउनस् न ।' चैतसम्म खाेप लगाउँछाैं भनेर फागुनकाे चुनाव राेक्न खाेजेकाे हाे भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
