काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता गरिएकाे अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बाेलाइएकाे हाे । दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
विशेष अधिवेशन राेक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएकाे छ । प्रदेश सभा सदस्य लीला गिरीले सोमबार दायर गर्नुभएकाे रिटको सुनुवाइ मंगलबारका लागि तोकिएकाे थियाे । तर साे रिट हेर्दाहेर्दैमा राखिएकाे छ । विशेष अधिवेशन राेक्न माग गर्दै अधिवक्ता गणेश घिमिरेले आइतबार दायर गरेको रिट निवेदनमा हकदैय्या नपुगेको भन्दै दरपिठ भएकाे थियाे ।
मुख्यमन्त्री शंकर पाेखरेललाई जसरी पनि हटाउने रणनीति साथ विपक्षी गठबन्धनले ४१ जना प्रदेश सभा सदस्यलाई आफ्नाे कब्जामा राखेका छन् । सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखेका प्रदेश सभा सदस्यलाई मंगलबार लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेनमा सारिएको छ ।
उता प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले राजीनामा दिनुभएकाे छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा सहभागी हुनुभएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिनुभएकाे हाे ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा कारबाही र राजीनामापछि ८० सदस्यमात्र छन् । जसमा एमालेका ३८ जना छन् । कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ र जनमोर्चाका १ गरी विपक्षी गठबन्धनसँग ४२ जना सदस्य छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।
