लुम्बिनी । प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि सुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।
त्यसअघि अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गर्नुभएको थियो । नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिनुभयो ।
बैठकमा सहसराम यादव, तारा जिसी, कृष्णध्वज खड्काले अविश्वास प्रस्तावमा समर्थन जनाउनुभएको थियो । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो ।
सभामुख पूर्णबहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको जानकारी गराउनुभएको थियो ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । विपक्षी गठबन्धनमा ४१ सदस्य छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए पनि प्रदेशसभा बैठक पूर्वनिर्धारित कार्यसूचीअनुसार चलेको थियो ।
प्रदेशसभा बैठकबाट सत्ता पक्षका सदस्यको उपस्थिति थिएन ।
–रासस
