काठमाडौं । प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले कोभिड रोकथाम, नियन्त्रण, उपचार र खोपमा वर्तमान सरकारले कुनै काम नगरेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै निवर्तमान स्वास्थ्यमन्त्री समेत रहनु भएका तामाङले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै पूर्ववर्ती सरकारको काम र तथ्याङ्क प्रस्तुत गर्नुभएको बताउनुभयो । स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य क्षेत्रमा भएको काम बारे प्रतिनिधि सभालाई जानकारी गराएपछि टिप्पणी गर्दै तामाङले अहिलेको सरकारले एक महिनाको अवधिमा स्वास्थ्य क्षेत्रमा सिन्को पनि नभाँचेको बताउनुभयो ।
उहाँले पुर्ववर्ती सरकारले गरेको कामको जस्ताको तस्तै डाटा ल्याएर संसदमा प्रस्तुत गरेको बताउनुभयो । ‘केही नभइकन जस्ताको तस्तै पूर्ववर्ती सरकारको डाटा ल्याएर यहाँ प्रस्तुत गर्नुभएको छ, यो बीचमा के भयो ? पूर्ववर्ती सरकारको पालामा के भयो, अहिले के भयो, कम्तिमा यत्तिकुरा राख्दिनुस्’, उहाँले भन्नुभयो ।
उहाँले पूर्ववर्ती सरकारले मेलम्चीका बाढी पहिरो पीडितलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको कुरा स्मरण गराउनुभयो । ती पीडितलाई तत्काल खोप लगाउने व्यवस्था गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।
