काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् विष्णुप्रसाद पाैडेलले अध्यादेशबाट कानुनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएकाे नेपालकाे वर्तमान आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेश ल्याउने कुरालाई विराेध गरिएकाे भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे हाे ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद् पाैडेलले याे सरकारले कुनैपनि अध्यादेश ल्याउँदैन भनेर विश्वास गर्दा हुन्छ कि हुँदैन भनेर साेध्नुभयाे ।
उहाँले प्रश्न गर्नुभयाे - 'आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानुनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएको छ, ठिक छ, त्यसो भए यो सरकारको पालामा बजेट लगायत कुनै पनि विषयमा कहिल्यै पनि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? केही हप्ता, केही दिन भित्र राजनीतिक दल विभाजनका लागि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ सभामुख महोदय ?'
