काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले कोभिड विरुद्धको खोपको व्यापक दुरुपयोग गरेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै बस्नेतले विभिन्न स्थानमा कोभिड विरुद्धको खोप भेटिएको उदाहरण प्रस्तुत गर्नुभयो । ‘विगतमा मेयरको घरमा खोप देखियो, कांग्रेसको उपसभापतिको घरमा खोप देखियो, होटलमा खोप देखियो, यसलाई रोक्नको लागि के योजना बनाउनु भएको छ ?’ बस्नेतले प्रश्न गर्नुभयो ।
उहाँले खोप लगाउन समेत कांग्रेस कार्यकर्ता हुनुपर्ने अवस्था आएको बताउनुभयो । ‘पछिल्लो बेलामा धनकुटा कांग्रेसको लेटर प्याडमा तपाईँ मन्त्री स्वयम्ले तोक लगाएर खोप पठाउनुभएको छ, यो बारेमा तपाईँसँग नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’, उहाँले भन्नुभयो ।
अहिले ११ हजार विद्यार्थीले एम्बीबीएस् पढ्न चाहेको भए पनि नेपालमा १ हजार ८ सय भन्दा बढी विद्यार्थी पढ्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यसमा ९० अर्ब भन्दाबढी रकम विदेशीन लागेको बस्नेतले बताउनुभयो ।
यस्तो बेलामा नयाँ मेडिकल कलेज खोल्नु पर्नेमा विगतमा अनुमति दिएका कलेजको इजाजत समेत खारेज गर्ने कुरा आएको बस्नेतले बताउनुभयो । ‘तपाईँ स्वास्थ्य माफियासँग मिल्नु भएको हो कि भन्ने प्रश्न छ’, बस्नेतले भन्नुभयो । उहाँले स्वास्थ्य मापदण्ड पूरा नगरी विद्यार्थीको परीक्षा लिएको भन्दै सरकारको आलोचना गर्नुभयो । ‘किन यस्तो भद्रगोल गरिँदै छ, वैकल्पिक उपाय किन सोचिएन’, उहाँले भन्नुभयो ।
खोप लिने जत्तिकै खोपको प्रमाणपत्र लिनेको लाइन पनि बसिरहेको उहाँले बताउनुभयो । त्यसलाई सम्बोधन गर्ने सरकारको के योजना छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
