काठमाडाैं । माओवादी केन्द्रका सांसद् मातृका यादवले प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओली विरुद्ध सदनमा अमर्यादित अभिव्यक्ति दिनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै सांसद् यादवले केपी ओलीकाे मानसिक स्वास्थ्यमाथि अमर्यादित टिप्पणी गर्नुभएकाे हाे । मानसिक अवस्था ठीक नभएका कारण ओलीले बारम्बार परमादेशको सरकार भनिरहनुभएकाे भन्दै यादवले संसदीय मर्यादाविपरित अभिव्यक्ति दिनुभएकाे हाे ।
यादवले भन्नुभयाे - 'मैले पार्टीकाे बैठकमा अध्यक्ष कमरेड प्रचण्डलाई भनेकाे थिएँ उहाँ (केपी ओली) मेन्टल्ली तथा फिजिकल्ली रुपमा ठिक हुनुहुन्न, त्यसैले कुनै पनि बेला दुर्घटना हुनुसक्छ, जिम्मेवारी किन बाेकाउनुहुन्छ ? उहाँलाई किन अन्याय गर्नुहुन्छ ।'
यादव त्यतिमा राेकिनुभएन । उहाँले भन्नुभयाे- 'मैले एमालेका साथीहरुलाई के भन्न चाहान्छु भने जहाज गुडाउँदा क्यापटेनहरुकाे मेडिकल चेक हुन्छ,ओलीलाई देशकै जहाज गुडाउन दिएपछि दुर्घटना हुँदैन ? पार्टीमा दुर्घटना हुँदैन ? दुई तिहाइकाे सरकार खत्तम भएर गठबन्धनकाे सरकार बन्याे ।' जसकाे मानसिक स्वास्थ्य बिग्रेकाे छ उसले परमादेश परमादेश भन्ने पनि यादवले बताउनुभयाे ।
प्रतिनिधि सभामा बारम्बार परमादेश भनेर अपमान गरेको भन्दै उहाँले केपी ओलीलाई राजीनामा दिन समेत आग्रह गर्नुभयाे । 'संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुशी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्व प्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो 'हाउस'मा नआइकन राजीनामा गर्न आग्रह गर्छु, चुनाव लडे भइहाल्छ, ६ महिनामा सरकारले चुनाव गराउँछ'-यादवले भन्नुभयाे ।
केपी ओली पार्टी र आन्दाेलन बर्बाद गर्नुभएकाे आराेप पनि यादवले लगाउनुभयाे । आफूहरुकाे गठबन्धनलाई अपवित्र भनिएकाेमा पनि यादवले आपत्ति जनाउनुभयाे ।
