विराटनगर । प्रदेश नं १ प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७८’ सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सदनमा पेश गर्नुभएको थियो ।
सो विधेयकमा प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गर्नु भएको थियो । संशोधन प्रस्तावको दफावार छलफलमा प्रदेशसभा सदस्य कार्कीले कृषि अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई फस्टाउन अनुदानको व्यवस्था खारेज गर्नु पर्ने धारणा राख्दै अनुदानले कृषिमा क्रान्ति नल्याइ यसलाई शिथील बनाउने भएकोले यो प्रस्ताव दर्ता गरेको जानकारी दिनुभयो ।
जवाफमा मन्त्री मगरले कृषिलाई व्यावसायीकरण गर्न यसमा अनुदानको आवश्यकता छ भन्दै रु.एक करोड अनुदान लैजाने कृषकले केही समय पछि ३५ प्रतिशत फिर्ता गर्नु पर्ने प्रावधान विधेयकमा छ भत्रुभयो । संशोधन प्रस्तावमा मन्त्री मगरले आंशिक प्रस्ताव स्वीकार गर्नु भएको थियो । अन्य प्रस्ताव संशोधनकर्ताले फिर्ता लिनुभएको थियो ।
बैठकमै ‘केही प्रदेश ऐनालाई संशोधन गर्न बनेको विधेयक, ०७८’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
सो प्रस्ताव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सदनमा पेश गर्नुभएको थियो । उहाँले यो ऐनले एक्लाएक्लै संशोधन गरिरहनु नपर्ने भएकाले समयको बचत हुने र थप काम गर्न समय मिल्ने बताउनुभयो ।
उहाँले अहिले प्रदेशमा ५० भन्दा बढी कानून निर्माण भइसकेकाले कतिपय ऐन संशोधन गर्न आवश्यक देखिएको छ भन्ने जानकारी दिँदै समयानुकुल विधेयक संशोधन भएमा प्रदेशको काम कारवाही तीब्र गतिमा अघि बढ्ने विश्वास व्यक्क्त गर्नुभयो ।
प्रस्ताव गरिएको विधेयकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका दुई, सामाजिक विकास मन्त्रालयका दुई, भौतिक पूर्वाधार मन्त्रालयका तीन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक वटा कानून संशोधन हुने उहाँले जानकारी दिनुभयो ।
प्रदेश सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजे बस्ने छ ।
–रासस
