काठमाडौं । प्रमुख प्रतिपक्षी सांसद् महेश बस्नेतले प्रतिनिधि सभाकाे अधिवेशन अन्त्य गरेर एमाले फुटाउने अध्यादेश ल्याउन लागिएकाे भन्दै कडा आपत्ति जनाउनु भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् बस्नेतले प्रतिनिधि सभाकाे अधिवेशन अन्त्य गरेर साे अध्यादेश ल्याउने हल्ला चलेकाे बताउनुभयाे । साे हल्ला सही भए आजको दिन संसदीय इतिहासमा कालो दिन हुने महेशले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'मापशे सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद् अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउँदैछ, डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय गर्याे भने याे संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेस गरेर सदन टुंग्याएकाे महेशले बताउनुभयाे । माधव नेपालकाे सहयाेगमा प्रचण्डकाे आडमा शेरबहादुर देउवाले नेतृत्व गरेकाे सरकार भएकाले याे सरकारलाई 'मापशे' सरकार भन्नुपर्ने पनि महेशले बताउनुभयाे ।
