काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ ।
एमालेबाट निर्वाचित सांसद् अजयकुमार शाही र विमला वली खत्रीले पार्टी ह्वीप उल्लङ्घन गरेकोले एमालेले कारबाही गरेको छ । कारबाही गरेको सूचना सभामुखलाई बुझाएको भए पनि सभामुखले उहाँहरुलाई सांसद् पदबाट हटाएको घोषणा नगरेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसद् हरि रिजालले यसको सूचना सभामुखलाई बुझाएको बताउनुभयो । उहाँहरुको पद रिक्त रहेको सूचना सभामुखले सदनलाई नदिएसम्म सदन चल्न नदिने उहाँले बताउनुभयो ।
एमाले सांसद्को विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले प्राप्त पत्र प्रशासनिक हिसाबले टुंगो लगाउन बाँकी रहेको र प्रक्रिया अनुसार नै अघि बढ्ने बताउनुभयो । ‘हामी यसलाई प्रक्रियामा लैजान्छौँ’, उहाँले भन्नुभयो ।
यस अघि मंगलबारको बैठकमा पनि एमालेले सो सूचना सार्वजनिक गर्न सभमुख समक्ष माग गरेको थियो । तर सभामुखले सो सूचना नदिएपछि एमालेले विरोध जनाएपछि संसद् बैठक अवरुद्ध भएको थियो ।
एमालेको सूर्य चिन्हबाट चुनाव जितेका दुई जना सांसद्ले पार्टी निर्देशन विपरित प्रदेशका मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए । उहाँहरुले मत दिएकै कारण प्रदेश प्रमुख कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नुभएको थियो ।
लुम्बिनीमा यस अघिको शंकर पोखरेल नेतृत्वको एमाले सरकारलाई हटाएर गठबन्धन सरकार बनेको थियो ।
