काठमाडौं । सभामुखले पदीय जिम्मेवारी पूरा नगर्दा लुम्बिनी प्रदेश सभा बैठक अघि बढ्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कारबाही गरेका सांसद्लाई पदमुक्त गरेको सूचना सभामुखले सार्वजनिक नगर्दा प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको छ । मंगलबार र बुधबार प्रतिपक्षीको विरोधको कारण अवरुद्ध भएको बैठक सूचना टाँस गरेर भदौ ७ गतेसम्मको लागि स्थगित गरिएको छ ।
नेकपा एमालेले कारबाही गरेका सांसद् नवलपरासीका अजय शाही र दाङका विमला वलीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्न एमालेले सभामुखसँग माग गर्दै आएको छ । तर सभामुखले भने कागजी प्रक्रिया पूरा भइनसकेको भन्दै सो सूचना सार्वजनिक गर्नुभएको छैन । एमालेले सूचना सार्वजनिक नभएसम्म बैठक चल्न नदिने बताएपछि आज दिउँसो हुने भनिएको बैठक ७ गतेसम्मको लागि स्थगित गरिएको हो ।
बुधबारको बैठकमा एमालेका सांसद्को विरोधका बीच सभामुख पूर्णबहादुर घर्ती उहाँहरु माथिको कारबाहीको कागज अध्ययनकै प्रक्रियामा रहेको तथा कागजी प्रक्रिया पूरा हुन बाँकी रहेको बताउनुभएको थियो । एमालेलको सूर्य चिन्हबाट चुनाव लड्नुभएका उहाँहरुले पार्टी निर्देशन विपरित गठबन्धनका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भनि एमालेले कारबाही गरेको छ ।
