काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध पारेपछि राष्ट्रिय सभा बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले पार्टीले १४ सांसदमाथि गरेकाे कारबाहीको सूचना नटाँसिएकाे भन्दै उठेर बिरोध जनाएका थिए । त्यसपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनु भएको थियो ।
भट्टराईले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नभइ दलिय भूमिका निभाएकाे भन्दै गम्भीर आपत्ति प्रकट गर्नुभयाे । एमाले फुटाउने काम सभामुखले गर्नुभएकाे भट्टराईले बताउनुभयाे । एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा सभामुख प्रस्तुत हुनुभएकाले त्यसकाे विराेधमा सभा अवरुद्ध गरिएकाे भट्टराईले बताउनुभयाे ।
सचेतक भट्टर्राइले कुरा टुंग्याउनसाथ एमाले संसद्ले फेरि उठेर विराेध जनाए । राष्ट्रिय सभा अध्यक्षले आग्रह गर्दा पनि एमालेले सांसद्ले मानेनन् । त्यसपछि उहाँले बैठक ३० मिनेटसम्मका लागि स्थगित गर्नुभएकाे छ ।
एमालेले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेकाे छ ।
