काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नीप्रसाद सापकोटा एमाले फुटाउने गठबन्धनको सारथी बनेको बताउनुभएको छ ।
एमालेले कारबाही गरेका सांसद्को सूचना सभामुखलाई पठाउँदा पनि टाँस नगरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बुधबारबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले सभामुख एमाले फुटाउने कामको मतियार बनेको बताउनुभयो ।
यस अघि आफैले गरेको कामको नजिर विपरित एमाले सांसद्लाई कारबाही गरेको सूचना सभामुखले ननिकालेको भन्दै यसको जवाफ सभामुखले दिनुपर्ने भट्टराईले बताउनुभयो । एमालेलाई नियोजित रुपमा फुटाएपछि सूचना दिएको १३ दिनपछि उहाँहरुलाई कारबाही गर्नु नपर्ने भन्दै सभामुखले जानकारी दिएको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । ‘तपाईँले एमालेले कारबाही गरेका सांसद्का हकमा उनीहरुलाई बचाउन र एमालेलाई टुक्रयाउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो, किन सारथीको भूमिका निर्वाह गर्नुभयो, दल विभाजनको लागि तपाईँ किन मतियार बन्नुभयो ?’, भट्टराईले भन्नुभयो ।
संविधान, विधान, नीति विधि सबै नाघेर एमालेलाई विभाजन गरिएको र त्यसमा सभामुखले भूमिका खेलेको उहाँले बताउनुभयो । एमालेले कारबाही गरेका सांसद् र केन्द्रीय सदस्यको हतार हतार सनाखत गरेर निर्वाचन आयोग मार्फत एमाले विभाजन गर्ने काम भएको उहाँको भनाइ छ ।
एमालेलाई नियम कानुन विपरित तल पार्ने प्रयास गरिन्छ भने त्यो सैह्य नहुने उहाँले बताउनुभयो । यी प्रश्नको जवाफ नआएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने उहाँले बताउनुभयो ।
