काठमाडौं । ‘म संविधान, कानुन र नियम अनुसार चल्छु, मलाई सदन चलाउन सहयोग गर्नुहोस् ।’
‘मैले संविधान, कानुन र नियमको वर्खिलाप केही गरेको छैन ।’
‘तपाईँहरुको माग ध्यानाकर्षण भयो, अब सभा सञ्चालनमा सहयोग गर्नुस् ।’
‘माननीय सदस्यहरु तपाईँहरुका माग दर्ज भइसके, अब त बैठक सञ्चालन गर्न सहयोग गर्नुहोला । ’
‘माननीय सदस्यहरु अब बैठक सञ्चालन गर्न सहयोग गर्नुस् ।’
‘यो बैठक सञ्चालन गर्न सहयोग गर्नु सबैको दायित्व हो, अझ प्रमुख प्रतिपक्षीको दायित्व हो ।’
प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद्ले सभामुख विरुद्ध लगातार नाराबाजी गरेपछि गल्नु भएका सभामुख अग्नीप्रसाद सापकोटाले व्यक्त गर्नुभएको अभिव्यक्ति हो यो ।
प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै एमाले सांसद् विरुद्ध निक्कै आक्रामक देखिनुभएका सभामुख सापकोटाले कानुन पढाउन खोजेपछि सांसद्ले त्यसको विरोध जनाएका थिए । त्यस पछि उहाँले १५ मिनेटको लागि बैठक स्थगित गर्नुभएको थियो ।
१५ मिनेट पछि दोस्रो बैठक सुरु हुनासाथ पुन: एमाले सांसद् विरोधमा उत्रिए पछि सभामुख गल्नु भयो । उहाँले आफू संविधान, कानुन र नियम अनुसार चल्ने प्रतिवद्ता व्यक्त गर्नुभयो ।
संविधान कानुन र नियमको धज्जी उडाउँदै एमालेले कारबाही गरेका सांसद्को सूचना टाँस गर्नुको सट्टा एमाले विभाजन गरिसकेपछि उहाँहरुको बारेमा केही गर्नु नपर्ने सूचना प्रकाशित गर्ने सभामुख अग्नीप्रसाद सापकोटाको प्रतिवद्धता एमाले सांसदले पत्याउनु भएन । उहाँहरुले सभामुख विरुद्ध नारा लगाइरहनु भयो ।
नाराबाजीकै बीचमा उहाँले आफूले संविधान, कानुन र नियम विपरित केही नगरेको बताउनुभयो । सांसदहरु अझ आक्रोसित हुनुभयो र चर्को स्वरमा नाराबाजी गर्नुभयो । त्यस पछि उहाँले सांसद्को माग दर्ज भै सकेको बताउँदै सभा सञ्चालन गर्न सहयोग गर्न आग्रह गर्नुभयो ।
तर उहाँको भनाइबाट सांसद् आश्वस्त हुनुभएन । उहाँको विरुद्ध सांसदहरुले नाराबाजी गरिरहनुभयो ।
