काठमाडौं । एमाले विरुद्धको गठबन्धनको मतियार बन्नुभएका सभामुख अग्नीप्रसाद सापकोटा अहिले आफ्नै कारणले समस्यामा पर्नुभएको छ ।
संविधान र प्रतिनिधि सभा सञ्चालन नियमावली विपरित एमालेले कारबाही गरेका सांसद्लाई कारबाही गर्नु नपर्ने सूचना जारी गर्नुभएका सभामुख सापकोटालाई बुधबारबाट सुरु भएको प्रतिनिधि सभा बैठकलाई अघि बढाउनु फलामका च्युरा चपाउनु जत्तिकै भएको छ । सभामुखको व्यवहारबाट रुष्ट बनेको एमाले सांसद्ले प्रतिनिधि सभामा सभामुखको कार्यको कडा प्रतिवाद गर्न सुरु गरेका छन् ।
एमालेको विरोधका बावजुत प्रतिनिधि सभा बैठक अगाडि बढाउन खोज्नु भएका सभामुखले संवेदनशील विषयमा एमालेलाई बदनाम गराउने कुटिल चाल चाल्नु भयो । तर एमाले सांसदले त्यसको भद्र, अनुशासित र मर्यादित तरिकाले सामना गरेका छन् । सभामुखको एमालेलाई बदनाम गराउने प्रयाश असफल भएको छ ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै एमाले सांसदले सभामुखका कार्यको विरोध जनाउनुभयो । विरोधकै बीचमा सभामुखले संसद् बैठक अघि बढाउँदै सहिद प्रति एक मिनेट मौनधारण गर्न सभालाई आग्रह गर्नुभयो । जतिबेला एमाले सांसद् चर्को नाराबाजी गर्दै थिए ।
त्यही नाराबाजीकै बीचमा मौनधारणको कार्यक्रम राखेर सभामुखले सहिदको सम्झानामा मौनधारण गर्दा समेत एमालेले विरोध जनाएको भन्दै बदनाम गराउन सकिन्छ भन्ने कुटिल चाल चाल्नुभयो । तर एमाले सांसद्ले विरोधका बीचमा पनि अति परिपक्व व्यवहार देखाउनुभयो ।
मौनधारणको समयमा सबै सांसद मौन रहनुभयो र सहिद प्रति सम्मान प्रकट गर्नुभयो । सभामुख सापकोटाको एमालेलाई बदनाम गराउने कुटिल चाललाई असफल गराइदिनुभयो ।
