काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सभामुख र गठबन्धन सरकारले दललाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले सभामुख र अध्यादेशको सरकार लोकतन्त्र मास्न लागेका बताउनुभएको छ । दललाई कमजोर र छिन्न भिन्न बनाएर व्यवस्था नै मास्ने काममा गठबन्धन लागेको उहाँको भनाइ छ । ‘प्रजातन्त्रलाई मास्न कसले लागिरहेको छ भन्दा, यो सरकारले, प्रतिनिधि सभाका सभामुखले र निर्वाचन आयोगले’, उहाँले भन्नुभयो ।
सबैले मिलेर लोकतन्त्र र दललाई छिन्न भिन्न गर्नका लागि काम गरिरहेको उहाँको भनाइ छ । यो विकृति र विसंगतिको एमालेले विरोध जनाएको उहाँले बताउनुभयो ।
एमालेले निष्कासन गरेका १४ जना सांसद्लाई प्रतिनिधि सभा बैठकमा सहभागी गराउन नहुने उहाँले बताउनुभयो । सभामुखले गरेका कमजोरी सच्चिनु पर्ने उहाँको माग छ । ‘उहाँले माफी माग्नु पर्छ’, दाहालले भन्नुभयो ।
एमालेले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसद् निर्वतमान भइसकेकोले उनीहरुलाई बैठकमा सहभागी गराएसम्म बैठक चल्न नदिने भन्दै एमालेले संघीय संसदका दुवै बैठक अवरुद्ध गर्दै आएको छ ।
