काठमाडौ । नेकपा एमालेकी नेता एवं प्रतिनिधि सभा सदस्य गंगा चौधरीले सरकार र सभामुखले संसदीय व्यवस्थाको धज्जी उडाउने काम भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सरकार र सभामुखले निर्वाह गरेको भूमिकाले व्यवस्थाकै धज्जी उडाएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा बैठकबाट बाहिरिएपछि प्रतिक्रिया दिँदै उहाँले सभामुखको भूमिका मर्यादा भन्दा बाहिर गएको बताउनुभयो ।
संसद् भित्र एकजना सांसद् उठ्दा पनि संसदमा अवरोध भएको मानिनेमा सिंगो प्रतिपक्षी दलले उठेर आवाज उठाउँदा पनि सभामुखले वेवास्ता गरेको उहाँले बताउनुभयो ।
कार्यव्यवस्था समितिको बैठक नराखी प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह नगरी संसद्लाई सभामुखले जबरजस्ती चलाउन खोजेको उहाँले बताउनुभयो । ‘दश वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई अनिर्णयको बन्दी बनाउने रणनीति अनुसार सभामुखले यो कार्य गर्नुभएको छ, यो संसदीय मर्यादाको धज्जी उडाउनुभएको छ’, चौधरीले भन्नुभयो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा चोर बाटोबाट लुकेर जंगली शैलीमा रोष्टममा पुगेको चौधरीले बताउनुभयो । आफूले त्यसलाई रोक्न प्रयत्न गरेको भए पनि असफल भएको उहाँले बताउनुभयो ।
माओवादी प्रतिनिधि सभा भित्र जनयुद्धको शैलीमा प्रस्तुत भएको चौधरीको भनाइ छ । ‘के जनयुद्ध हो यो ? सदन भित्र जनयुद्ध हो ? लोकतन्त्र भनेको के हो ? गणतन्त्र भनेको के हो ? व्यवस्थापिका भनेको के हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
गुरिल्ला पाराबाट यो सरकार चल्न नसक्ने उहाँले बताउनुभयो । चौधरीले देशका योजनालाई असफल बनाएर देशलाई नै अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभयो ।
