काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज पनि सुरु हुने बित्तिकै नाराबाजी सुरु भएको छ । एमाले सांसद्ले बैठक सुरु हुने बित्तिकै नाराबाजी गरेका हुन् ।
सभामुखको भूमिका निष्पक्ष नभएको तथा एमाले फुटाउन प्रत्यक्ष भूमिका खेलेको भन्दै एमालेका सांसद्ले प्रतिनिधि सभामा विरोध जनाउँदै आएका छन् । त्यसैको निरन्तरता स्वरुप आजको बैठकमा पनि एमाले सांसद्ले विरोध जनाएका हुन् ।
यस अघि आजै भएको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले सरकार र सभामुखको भूमिकाको कारण संसद् बैठक अवरुद्ध गरेको र यो अवरोध जारी रहने बताउनुभएको थियो ।
उहाँले सांसदमा आफ्ना दलका सांसदलाई मर्यादीत रुपमा प्रस्तुन हुन निर्देशन दिनुभएको छ । सभामुखको प्रस्तुती अनुसार विरोधलाई अगाडि बढाउने उहाँले बताउनुभएको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले संवादबाट नै समस्याको समाधान खोज्नु पर्ने भन्दै यसको लागि सहयोग गर्न बैठकमा आग्रह गर्नुभएको छ । तर एमाले सांसद्ले नाराबाजी सुरु गरेका छन् ।
