काठमाडाैं । प्रतिनिधि सभा बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएकाे छ ।
सभामुख सापकाेटाले भदाै २९ गते बस्नेगरी बैठक स्थगित गर्नुभएकाे हाे । नेकपा एमालेले अवराेध कायमै राखेपछि सभामुखले बैठक स्थगित गर्नुभएकाे हाे । आज प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले उठेर विराेध गरेका थिए । उनीहरुले नारा पनि लगाएका थिए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे ।
पहिलाे बैठक अवरुद्ध भएपछि सभामुख सापकाेटाले एमाले सांसद्सँग छलफल गर्नुभएकाे थियाे । तर छलफलमा सहमति जुटेन । प्रमुख प्रतिपक्षीसँग संवाद नै नगरी अगाडि बढ्नुभएका सभामुखले एमालेलाई पेलेर जान नसक्ने देखिएपछि बल्ल आज छलफल गर्नुभएकाे थियाे । तैपनि सहमति हुन नसकेकाे हाे ।
छलफलमा एमालेबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता खगराज अधिकारी सहभागी हुनुभएकाे एमाले सचेतक शान्ता चाैधरीले जानकारी दिनुभयाे । सभामुखले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राखेर छलफल गर्नुभएकाे थियाे ।
एमालेकाे अवराेधबीच सभामुखले दाेस्राे बैठक अगाडि बढाउनुभयाे । दाेस्राे बैठक सुरु हुनासाथ एमाले सांसद् फेरि नारा लगाए । त्यसपछि सभामुखले भदाै २९ गते बस्नेगरी बैठक स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
पार्टीले निष्कासन गरेका १४ सांसद्लाई पदमुक्त नगरेसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएकाे छ ।
