काठमाडौं । नेकपा एमाले संसदीय दलकाे नेता सुवासचन्द्र नेम्वाङले सदनकाे अवराेध खाेल्ने विषय सभामुख अग्निप्रसाद सापकाेटा र सत्ता पक्षमा भर पर्ने बताउनु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफमा नेता नेम्वाङले त्यसाे भन्नुभएकाे हाे । सदनकाे अवराेध कहिले हट्छ भनेर प्रधामन्त्रीलाई साेध्दा केपी ओलीलाई साेध्नु भनेर जवाफ दिनुभएकाे भन्दै सञ्चारकर्मीले नेम्वाङसँग जवाफ मागेका थियाे ।
'सभामुख र सत्तापक्षलाई साेध्नुस् - कहिलेसम्म सदन अवरुद्ध गर्ने स्थितिलाई कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई भेदभाव गर्नुहुन्छ ? कहिलेसम्म छलफल नगरी बस्नुहुन्छ ? यस्ताे खालकाे रबैया कहिलेसम्म चल्छ ?' - नेम्वाङले सञ्चारकर्मीलाई भन्नुभयाे ।
यही अवस्थामा सदन कसरी अगाडि बढ्छ भन्ने पत्रकारकाे प्रश्नमा प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई साेध्न आग्रह गर्नुभएकाे थियाे ।
सबै अधिकार आफ्नाे हातमा रहँदा पनि सभामुखले निष्पक्ष भूमिका खेल्न नसक्नुभएकाे नेता नेम्वाङले बताउनुभयाे । पार्टीले कारबाही गरेका १४ सांसद्लाई पदमुक्तकाे सूचना टाँसे सभामुखसँग संवाद केही अगाडि बढ्ने उहाँले बताउनुभयाे ।
माओवादी र जसपाकाे हकमा पत्र दिँदासाथ कारबाहीकाे सूचना जारी भएकाे र आफूहरुले पत्र दिँदा कारबाही नगरिएकाले नै सदन अवरुद्ध गरिएकाे नेता नेम्वाङले प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे - 'हामीले भेदभाव भएको महसुस गरिरहेका छौं, जसपा र नेकपा माओवादी केन्द्रको हकमा उहाँहरुले उजुरी दिनासाथ कारबाहीको सूचना भयो, तर हामीले गरेकोमा किन भएन ? हाम्रो प्रश्न त यो हो, हामीलाई शान्त गर्नासाथ सबै चिज ठीक हुन्छ ।'
सभामुखले १४ सांसद्लाई कारबाहीकाे सूचना टाँसे केही हदसम्म सदनकाे अवराेध हट्न सक्ने बताउँदै उहाँले भन्नुभयाे - '१४ जनालाई पदमुक्त गरेको सूचना निकाल्नुभयाे भने उहाँ अलिकति ठिक ठाउँमा आउनुभयाे भन्ने बुझिनेछ ।' अहिले पनि सूचना टाँस गर्न मिल्छ त ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेम्वाङले भन्नुभयाे - 'नेपालमा कस्ता-कस्ता काम त भएका छन्, कानुनबमोजिमको यो काम गर्न किन मिल्दैन, मिल्छ, तर गर्ने-नगर्ने उहाँहरुकाे हातमा छ ।'
