काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा देखिएको गतिरोध कहिले अन्त्य हुन्छ भनेर प्रमुख प्रतिपक्षीलाई साेध्न आग्रह गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवनबाट बाहिरिने क्रममा देउवाले पत्रकारसमक्ष त्यसाे भन्नुभएकाे हाे । यसरी नै संसद् कति दिन चलाउनुहुन्छ भनेर पत्रकारले साेधेकाे प्रश्नमा देउवाकाे जवाफ थियाे - 'ओलीजीलाई सोध्नुस् ।' प्रतिपक्षीलाई दाेष लगाएर एक शब्दमा जवाफ दिँदै देउवा अगाडि बढ्नुभयाे ।
यता नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ्ले सदनकाे गतिराेध अन्त्य हुने कुरा सभामुख र सत्तापक्षकाे हातमा रहेकाे बताउनु भएकाे थियाे । १४ जना सांसद्लाई कारबाहीकाे सूचना टाँसेर एमालेलाई शान्त पारे सदन चल्न सक्ने नेम्वाङ्काे भनाइ छ । सभामुखले १४ जना सांसद्लाई पदमुक्त नगरेकाे भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ । १४ जना गैरसांसद् सदनमा उपस्थित हुँदासम्म बैठक चल्न नदिने एमालेकाे चेतावनी छ ।
