काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाले एमाले फुटाउन सहयाेग गरेकाे भन्दै एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेकाे हाे । राष्ट्रिय सभाकाे बैठक सुरु हुनासाथ एमाले सांसद्ले उठेर विराेध जनाएका थिए ।
एमाले सांसद् भैरवबहादुर श्रेष्ठले सभामुख सापकाेटाले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेकाले बैठक अवरुद्ध गरिएकाे बताउनुभयाे । सांसद् श्रेष्ठले सभामुखको भूमिका निष्पक्ष नभएको र एमाले विभाजनमा भूमिका खेलेकाले विरोध जारी रहने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सभामुखका कारण दुवै सदन अवरुद्ध भएका छन्, एमालेलाई फुटाउन सभामुखको प्रत्यक्ष संलग्नता देखिएकाे छ, यसमा हाम्राे आपत्ति छ ।'
१४ जना सांसद्लाई कारबाहीकाे सूचना नटाँस्नुकाे कारणबारे सभामुखले चित्तबुझ्दाे जवाफ नदिँदासम्म संघीय संसद्का दुबै सदन चल्न नदिइने श्रेष्ठले बताउनुभयाे ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभा अवरुद्ध नगर्न आग्रह गर्नुभयाे । तर एमाले सांसद्ले उठेर विराेध जनाए । एमालेको विरोधबीच प्रतिनिधि सभाले सुझावसहित पठाएको लोकसेवा आयोग ऐन, ०७५ लाई विधेयकको प्रतिवेदन सभामा प्रस्तुत गरिएको छ । त्यसपछि बैठक १५ मिनेटमा लागि स्थगित भएकाे छ ।
