काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाकै कारण संघीय संसदका दुवै सदन अवरुद्ध भएको बताउनुभएको छ ।
सभामुखले एमालेलाई फुटाउनको निम्ति भूमिका खेलेकै कारण संसद् बैठक अवरुद्ध भएको उहाँले बताउनुभयो । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘नेकपा एमालेलाई फुटाउनको निम्ति सभामुखको प्रत्यक्ष भूमिका रह्यो, यस प्रति हाम्रो गम्भीर आपत्ति छ ।’
एउटै प्रकृतिका घटनामा कारबाही गरिएका सांसद्को सूचना १८ घण्टा भित्र टाँस गर्ने सभामुखले एमालेले कारबाही गरेका सांसद्को सूचना टाँस नगरेको उहाँले बताउनुभयो । ‘सभामुखले उहाँहरुलाई कारबाही गरेको सूचना टाँस गर्नु पर्थ्यो तर त्यो काम भएन’, उहाँले भन्नुभयो ।
एमालेलाई केन्द्रदेखि तलसम्म क्षतविक्षत गराउने गरी अध्यादेश ल्याइउको भन्दै उहाँले आपत्ति जनाउनुभयो । नेकपा एमालेलाई तलदेखि माथिसम्म विभाजन गर्ने गठबन्धन सरकारको षडयन्त्रमा सभामुखको भूमिका रहेको उहाँले बताउनुभो । यो विषयको चित्तबुझ्दो जवाफ नआएसम्म एमालेले बैठक अघि बढ्न नदिने उहाँले प्रष्ट पार्नुभयो ।
