काठमाडौं । ‘लोक सेवा आयोग विधेयक, २०७८’ राष्ट्रिय सभाबाट पारित भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच साेमबार साे विधेयक राष्ट्रिय सभाबाट पारित भएकाे हाे । आज बसेकाे राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएकाे थियाे ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले विधेयकमाथि विधायन व्यवस्थापन समितिबाट भएका संशोधनहरू विधेयकको अंग बनोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्ताव बहुमतले पारित भयाे । मन्त्री कार्कीले ‘लोक सेवा आयोग विधेयक २०७८’ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयाे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएकाेमा साे प्रस्ताव बहुमतले पारित भयाे ।
बैठकले राष्ट्रिय सभाका पूर्व सदस्य रुक्मशम्शेर राणाको निधनमा शोक प्रस्ताव पनि पारित गरेकाे छ । बैठक अवधिभर एमाले सांसद्ले उभिएरै विराेध जनाएका थिए । राष्ट्रिय सभाको अर्काे बैठक भदाै ३० गते बस्नेछ ।
