काठमाडौं । प्रमुख प्रतिपक्षीकाे विराेधबीच प्रतिनिधि सभाबाट विनियाेजन विधेयक स्वीकृत भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले सदनकाे काम कारबाही अगाडि बढाउनुभएकाे थियाे । आजकाे बैठक सुरु हुनासाथ एमाले सांसद्ले बेल अगाडि आएर नारा लगाएका थिए ।
तर सभामुख सापकाेटाले कुनै प्रतिक्रिया नदिइ बैठक अगाडि बढाउनुभयाे । प्रतिपक्षीलाई नदेखेझैंगरी उहाँ कार्यसूचीमा प्रवेश गर्नुभयाे । सभामुखले अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभयाे । अर्थमन्त्रीले विधेयक पेस गर्नुभयाे ।
साे प्रस्तावमाथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल मात्र सहभागी हुनुभयाे । छलफलमा सुवालले उठाएका प्रश्नकाे जवाफ दिन भन्दै राेष्टममा पुग्नुभएका अर्थमन्त्रीले कुनै जवाफ दिनुभएन । छलफलमा भाग लिएकाे धन्यवाद मात्र दिनुभयाे ।
त्यसपछि सभामुखले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नुभयाे । एमालेकाे अवरोधकै बीच साे विधेयक बहुमतले स्वीकृत भयो । यद्यपि प्रस्ताव स्वीकृत भएपनि विधेयक पारित भएपछि मात्र बजेट कार्यान्वयन हुनेछ ।
बैठकले संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेकाे छ । साे प्रस्ताव पारित गर्न एमाले सांसद्ले सघाएका थिए । शोक प्रस्तावका मौन धारण गर्न सभामुखले आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीले नाराबाजी रोके ।
लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभयाे ।
