काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले 'अध्यागमन विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले नै 'सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री देउवाले 'अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
