काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाकाे आजकाे बैठकमा पनि विराेध कायमै राखेकाे छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाकाे भूमिकालाई लिएर एमालेले संघीय संसद्काे दुबै सदन अवरुद्ध गर्दै आएकाे छ । एमालेले निष्कासन गरेका १४ सांसद्लाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने बताउदै आएकाे छ ।
बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले आ-आफ्नाे ठाउँबाट उठेर विराेध जनाए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद् भगवति न्याैपानेलाई बाेल्न समय दिनुभयाे । भगवतिले बाेलेपछि पनि एमाले सांसद्हरु उभिरहे । सभाध्यक्षले एमाले सांसद्हरुलाई बस्न आग्रह गर्नुभयाे । यद्यपि सांसद्हरुले बस्न मानेनन् ।
अध्यक्ष तिमिल्सिनाले १ र २ काे कार्यसूची हटाइएकाे जानकारी बैठकलाई गराउनुभयाे । बैठकमा शाेक प्रस्ताव पारित गर्ने कार्यसूची मात्र रहेकाे उहाँले जानकारी गराउनुभयाे । त्यसपछि भने एमाले सांसद्हरु बसे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे शाेक प्रस्ताव बहुमतले पारित भएकाे छ ।
राष्ट्रिय सभाकाे अर्काे बैठक असाेज ५ गते बस्ने सभाध्यक्षले बैठकमा जानकारी गराउनुभयाे ।
