काठमाडाैं । प्रदेश-१ प्रदेश सभाकाे नवाैं तथा हिउँदे अधिवेशन आह्वान भएकाे छ ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख प्रमुख सोमनाथ अधिकारी प्यासीले असाेज २२ का लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुभएकाे प्रदेश सभा सचिवालयले बिहीबार जानकारी दिएकाे छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन दिउँसाे २ बजे उपस्थित हुन प्रदेश सभा सचिवालयले सबै सांसद्लाई अनुराेध पनि गरेकाे छ । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।
प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासकाे मत लिनुहुने तयारी छ । एमालेका १० सांसद् एकीकृत समाजवादीतिर लागेपछि एमाले नेतृत्वकाे सरकारले एकल बहुमत गुमाएकाे छ । अल्पमतमा परेसँगै मुख्यमन्त्रीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
