काठमाडाैं । विनियाेजन विधेयक, २०७८ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विराेधबीच विनियाेजन विधेयक पारित भएकाे हाे । प्रमुख प्रतिपक्षीकाे विराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले अगाडि बढाउनु भएकाे बैठकले विधेयक पारित गरेकाे हाे ।
बैठकमा सभामुख सापकाेटाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिनुभएको थियो । मन्त्री शर्माले प्रस्ताव पेस गर्नुभयाे । त्यसपछि सभामुखले साे विधेयक निर्णयार्थ पेस गर्नुभयाे । त्यसपछि सभामुखले बहुमतले विधेयक पारित भएकाे घाेषणा गर्नुभयाे ।
यद्यपि प्रतिस्थापन विधेयकमार्फत् आएको विनियोजन विधेयक पारित भए पनि पूरै बजेट भने पारित भएको छैन । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि मात्र पूरै बजेट पारित हुनेछ । ती दुबै विधेयक आजकाे बैठकले स्वीकृत गरेकाे छ ।
सभामुखले अर्थिक विधेयकमाथिको दफाबार छलफल असाेज ७ गते बैठक बाेलाउनु भएकाे छ ।
सो विधेयक पारित गर्नुअघि सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि भाग लिन आग्रह गर्नुभएकाे थियाे । विरोधको सूचना दर्ता गराउनुभएका नेमकिपा सांसद् प्रेम सुवालबाहेक अन्य सांसद्ले नाम भाग लिनुभएन । त्यसपछि सभामुखले अर्थमन्त्रीलाई विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभयाे ।
सभामुखले नेमकिपा सांसद् सुवाललाई विभिन्न मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव फिर्ता लिन समय दिनुभयाे । सुवालले सो प्रस्ताव फिर्ता लिनुभएन । सुवालले राखेको खर्च कटौतीको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्नुत गर्नुभएकाेमा बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे ।
