काठमाडौं । प्रतिनिधि सभामा केही दिन यतादेखि अनौठो दृश्य देखिएको छ ।
सभामुखले प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् आफ्नो ठाउँबाट उठेर रोष्टम अगाडी आइपुग्छन् । मर्यादापालक हातेसाङ्लो बाँधेर सांसदको अगाडि उभिन्छन् । त्यस पछि सभामुखले प्रतिनिधि सभा बैठकको कारबाही अघि बढाउनुहुन्छ ।
प्रमुख प्रतिपक्षी दलका सांसद् नारा लगाइरहेको हुन्छन् । सभामुखले बैठकको कारबाही चलाइ रहनुहुन्छ । प्रतिनिधि सभा बैठकको छलफलमा न सत्ता पक्षका सांसदले बोल्न भाग लिन्छन् न प्रमुख प्रतिपक्षी दलका सांसदले भाग लिन्छन् ।
हरेक बैठकमा केवल एकजना सदस्यले मात्र भाग लिनुहुन्छ । उहाँको हो नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित सांसद् प्रेम सुवाल । सुवा प्रतिनिधि सभामा सो पार्टीको तर्फबाट निर्वाचित एक मात्र सदस्य हो ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष बीच प्रतिनिधि सभामा गम्भीर मनमुटाव भएको कारण दुवै पक्षले बोल्ने सांसदको नाम टिपाउने गरेका छैनन् । तर सांसद् सुवालले भने सभामा प्रस्तुत हुने हरेक विधेयक माथि असहमतिको प्रस्ताव दर्ता गराउने गर्नुभएको छ ।
बैठक सुरु हुने वित्तिकै होहल्लाको बीचमा सभामुखले सुवाललाई बोल्न समय दिनुहुन्छ । कहिलो उहाँको सभामुखसँग दोहोरी चल्छ, कहिले सवाल जवाफ चल्छ अनि कहिले सरकारका मन्त्रीहरुसँग सुवालको सवाल जवाफ चल्छ । उहाँसँगको सवाल जवाफ सकिएपछि सभामुखले पक्ष विपक्षमा ध्वनी मत गराउनुहुन्छ । सत्ता पक्षका सांसद् हुन्छ भन्छन् । हुन्न भन्ने पक्षमा एक मात्र सांसद् सुवाल उभिनुहुन्छ ।
प्रतिनिधि सभाकै सबैभन्दा ठूलो प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका सांसद् संसदमा जान्छन् र फर्कन्छन् । एमालेका सांसद् विरोधमा नारा लगाउँछन् । सभामुख एक्लै भाषण गर्नुहुन्छ । सरकारका मन्त्री बेलाबेलामा दौड प्रतियोगिताका खेलाडी दौडिए जस्तै दौडिएर रोष्टममा पुग्छन् र विधेयक पेश गर्छन् । अनि सुवालले सोधेका प्रश्नको जवाफ दिन्छन् ।
प्रतिनिधि सभा बैठकको दृश्य देख्दा लाग्छ प्रतिनिधि सभा बैठक सभामुख र सुवालको लागि बस्ने गर्दछ । उहाँहरु दुईजनाले बोलेपछि प्रतिनिधि सभा बैठक टुंगिन्छ । यसले लाग्छ २ सय ७५ सदस्य रहने प्रतिनिधि सभा केवले सभामुख र प्रेम सुवालले धानिदिनुभएको छ ।
