काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
दिउँसाे २ बजे बस्ने बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले 'अध्यागमन विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । प्रधानमन्त्रीले नै 'सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री देउवाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव पनि प्रधानमन्त्री देउवाले प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा विनियोजन विधेयक, ०७८ मा उल्लिखित शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७८ मा उल्लिखित शीर्षकहरू माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि तय छ ।
