काठमाडाैं । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
प्रमुख प्रतिपक्षीकाे अवराेधबीच बजेटका पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई अनदेखा गर्दै सभामुखले बैठककाे कामकारबाही अगाडि बढाउनु भएकाे थियाे ।
दुबै विधेयकमा नेमकिपाका सांसद् प्रेम सुवालले संशाेधनकाे सूचना दर्ता गराउनु भएकाे थियाे । दुबै विधेयकमाथिकाे छलफलमा पनि सुवालले मात्र भाग लिनुभयाे । सुवालकाे प्रश्नकाे जवाफ अर्थमन्त्रीले दिनुभयाे ।
बैठकमा सभामुखले अर्थमन्त्रीलाई विधेयक पारित गरियाेस् भनेर प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयाे । दुबै विधेयक बहुमतले पारित भएकाे घाेषणा सभामुखले गर्नुभयाे । दुबै विधेयक पारित भएपछि बैठक असाेज ११ गते बस्नेगरी स्थगित भएकाे छ ।
असोज ४ गते बसेको प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट विनियोजन विधेयक आज पारित भएको छ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको सूचना प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बैठककाे सुरुमै प्रतिनिधि सभालाई जानकारी जानकारी गराउनुभएकाे थियाे ।
