काठमाडाैं । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
आज बसेकाे दाेस्राे बैठकले दुबै विधेयक बहुमतले स्वीकृत गरेकाे हाे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ती दुबै विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई समय दिनुभएकाे थियाे ।
अर्थमन्त्रीले प्रस्ताव पेस गरेलगत्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दुबै विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले दुबै विधेयक बहुमतले स्वीकृत गरेकाे घाेषणा गर्नुभयाे ।
आजै बसेकाे पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग नलिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विधेयक निर्णयार्थ पेस गर्नुभएकाे थियाे ।
आज पनि बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् उठेर विरोध जनाएका थिए । एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दुबै बैठकमा आफूहरुकाे माग पूरा नभएकाले विराेध जारी रहेकाे जानकारी गराउनु भएकाे थियाे ।
दुबै विधेयकमा सुझावसहितकाे सूचना दिन चाहाने सांसद्लाई विधेयक शाखामा सूचना दिन दाेस्राे बैठकमा अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयाे । दुबै विधेयक माथि दफावार छलफलका लागि असाेज ११ गतेकाे समय निर्धारण गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
