काठमाडाैं । संघीय संसद्काे दुबै सदनकाे बैठक आज बस्दैछ । राष्ट्रिय सभा बैठक बिहान ११ बजे र प्रतिनिधि सभा बैठक दिउँसाे २ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभाका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ । प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।
राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले 'अध्यागमन विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'खाद्य स्वच्छता तथा गणुस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलाे संशाेधन विधेयक र सुरक्षण मुद्रणसम्बधी विधेयक, २०७७ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस' भनि प्रस्ताव पेस गर्नुहुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'आर्थिक विधेयक २०७८ माथिकाे दफावार छलफल सदनमा गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्रीले 'आर्थिक विधेयक, २०७८ पारित गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्री शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथिकाे दफावार छलफल सदनमा गरियाेस् र पारित गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
