काठमाडौं । आर्थिक विधेयक, २०७८ राष्ट्रिय सभाबाट पारित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच साेमबार बसेकाे राष्ट्रिय सभा बैठकबाट विधेयक बहुमतले पारित भएकाे हाे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई 'प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ लाई मूल रुपमै सुझावबिना पारित गरी प्रतिनिधि सभामै फिर्ता पठाइयाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयाे ।
अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि अध्यक्ष तिमिल्सिनाले साे विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभयाे । 'प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ लाई मूल रुपमै सुझावबिना पारित गरी प्रतिनिधि सभामै फिर्ता पठाइयाेस्' भन्ने प्रस्ताव बहुमतले पारित भएकाे अध्यक्ष तिमिल्सिनाले घाेषणा गर्नुभयाे ।
त्यसअघि अध्यक्ष तिमिल्सिनाले आर्थिक विधेयक माथिको दफाबार छलफलमा भाग लिन आग्रह गर्नुभएकाे थियाे । तर दफाबार छलफलमा कुनै पनि सांसद्ले भाग लिएनन् । प्रक्रियाअनुसार विधेयक अगाडि बढ्याे र सभाले बहुमतले पारित गर्याे ।
