काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवराेध कायमै राखेकाे छ ।
साेमबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले बेलमा आएर नाराबाजी गरेका थिए । उनीहरुले आज प्रतिस्थापन विधेयकप्रति कडा आपत्ति जनाउँदै कालो धनलाई वैधानिक बनाउन पाईंदैन भन्ने नारा पनि लगाएका थिए ।
सभामुखले एमाले सांसद्लाई बस्न आग्रह गर्नुभयाे । एमाले सांसद्ले निरन्तर नारा लगाए । तर सभामुखले एमालेकाे नाराबाजीबीच कार्यसूची अगाडि बढाउनुभयाे । सभामुखले राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएको सम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयाे । साे विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट असाेज ७ गते प्रमाणीकरण भएकाे थियाे ।
राष्ट्रपति कार्यालयकाे पत्रपछि सभामुखले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई 'आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाउन समय दिनुभयाे । ती दुबै विधेयक राष्ट्रिय सभाबाट आज पारित भएका थियाे । त्यसपछि सभामुखले असाेज १४ गतेसम्मका लागि बैठक स्थगित गरिएकाे जानकारी गराउनुभयाे ।
सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै अवराेध गर्दै आएकाे छ । तर सभामुखले एमालेसँग कुनै संवाद अगाडि बढाउनु भएकाे छैन । बरु एमालेलाई पेलेर जाने रणनीतिसाथ काम गर्दै आउनुभएकाे छ ।
सरकारले ल्याएकाे प्रतिस्थापन विधेयकमा राखिएका प्रावधानमा पनि एमालेले आपत्ति जनाएकाे छ ।
