काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारण ऐनसँग बाझिने कुनै कानुन नल्याउने दाबी गर्नुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिस्थापन विधेयकका प्रावधानप्रति आपत्ति जनाएपछि अर्थमन्त्रीले त्यसाे भन्नुभएकाे हाे । बैठक सुरु हुनासाथ एमाले सांसद् परशुराम मेघी गुरुङले प्रतिस्थापन विधेयकमा कालाे धनलाई सेताे बनाउने प्रावधान राखिएकाे भन्दै आपत्ति जनाउनुभएकाे थियाे । साे विधेयक तत्काल खारेज गर्न उहाँले ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
त्यसबारे जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी कानुन प्रभावित नहुने गरी करको दायरा मात्रै विस्तार गर्न लागिएको बताउनुभयाे । 'कलाकार चिकित्सक,कानुन व्यवसायी लगायत व्यवसायी भनेर स्पष्ट ताेकिएकाे छ,ती व्यवसायीकाे सन्दर्भमा कर छुटकाे व्यवस्था गरिएकाे छ र ती सबैलाई करकाे दायरामा ल्याउने कुरा गरिएकाे छ,करकाे विस्तार गर्ने याेजना अन्तरगत राखिएकाे छ,त्यसकाे अर्थ भ्रष्टाचार निवारण एेन,सम्पत्ति शुद्धीकरण एेनले आफ्नाे काम गरिराख्छन् ।'
काेभिड जाेखिम रहेका बेला साना व्यवसायीलाई पनि छुट दिइने उहाँले बताउनुभयाे । सांसद् गुरुङले प्राकृतिक व्यक्ति भनेकाे काे हाे ? भन्ने प्रश्न गर्नुभएकाे थियाे । तर अर्थमन्त्रीले आलेटाले जवाफ दिएर पन्छिनुभयाे ।
