सुदूरपश्चिम । प्रदेश सभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो । विधेयक पारित भएसँगै प्रदेशमा पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै पशु स्वास्थ्य, पशु कल्याणलगायतमा देखिएको नीतिगत समस्या समाधानमा सहज हुने भएको छ ।
यसअघि उक्त विधेयकमाथि भएको सामान्य छलफलमा भाग लिनुहुँदै प्रदेशसभा सदस्य महेशदत्त जोशीले विधेयकमा पशुको जन्म र मृत्यु दर्ता गर्ने, छाडा छोड्दा पनि निश्चित ठाउँमा जम्मा गरिदिनेलगायतका व्यवस्था स्थानीय पालिकाबाट गर्ने व्यवस्था हुन सकेमा हाल देखिएको छाडा र बेवारिसे पशु चौपायाको समस्या समाधान हुने सुझाव दिनुभयो ।
बैठकमा प्रदेश लोकसेवा आयोग ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले नीतिगत समस्याका कारण प्रदेश लोकसेवा आयोगलाई काम गर्न असहज भएकाले ऐन संशोधनको लागि विधेयक ल्याइएको बताउनुभयो ।
यसअघि उक्त विधेयकमाथि भएको सामान्य छलफलमा प्रदेशसभा सदस्यद्वय सुशीला बुढाथोकी र देवकी मल्ल थापाले भाग लिनुभएको थियो । यसैगरी आजको बैठकमा सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले प्रस्तुत गर्नुभएको ‘सुदूरपश्चिम प्रदेश खेलकुद ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गरिएको थियो । छलफलमा प्रदेशसभा सदस्यद्वय कुलविर चौधरी र नन्दबहादुर साउदले भाग लिनुभएको थियो ।
प्रदेशसभाको बजेट अधिवेशन (बर्खे अधिवेशन) अन्तगर्तको नियमित बैठक झण्डै अढाइ महिनापछि सोमबार सुरु भएको थियो ।
–रासस
