काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले आज पनि प्रतिनिधि सभाकाे बैठक अगाडि बढाउनुभएकाे छ ।
बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले बेलमा आएर नारा लगाएका थिए । सभामुखले एमाले सांसद्लाई बस्न आग्रह गर्नुभयाे । तर एमाले सांसद्ले आफूहरुकाे माग पूरा नभएसम्म विराेध कायमै रहने जनाउ दिँदै नारा लगाइरहे ।
एमालेकाे नाराबीच सभामुखले बैठककाे कार्यसूची अगाडि बढाउनुभयाे । बैठकमा सभामुख सापकोटाले राष्ट्रपति कार्यलयबाट प्राप्त राजनीतिक दल विभाजनसम्बन्धी (पहिलाे संशाेधन) अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनुभयाे । सभामुखले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पनि उहाँले पढेर सुनाउनुभयाे ।
सभामुखलेप्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन, ०७८ पेस गर्न समय दिनुभयाे । मन्त्री कार्कीले प्रतिवेदन पेस गरेपछि सभामुखले अर्काे बैठक असाेज १९ गते बस्ने घाेषणा गर्दै बैठक स्थगित गर्नुभयाे ।
