काठमाडौं । 'हामीले उठान गरेका जे मुद्दाहरु हुन्, ती मुद्दाहरुबारे सत्तापक्षले वा सभामुख ज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकारले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि ? किन अरु गठबन्धनलाई भेला पार्ने'- एमाले प्रमुख सचेत विशाल भट्टराईले भन्नुभयाे ।
बिहीवार बसेकाे प्रतिनिधि सभा बैठकपछि संसद् भव परिसरमा पत्रकारसँग कुरा गर्दै भट्टराईले सर्वदलीय बैठकमा नजानुकाे कारण सुनाउँदै त्यसाे भन्नुभएकाे हाे । सभामुख र सरकारसँग जाेडिएका मुद्दा भएकाले एमालेसँग मात्र वार्ता गर्नपर्ने बताउँदै भट्टराईले भन्नुभयाे - 'अरु सबैसँग साच्ची राखेर हामीसँग उहाँ(प्रधानमन्त्री)ले बहस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौं, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैं खुल्ला छौं, त्यसकारण आजको बैठकमा हामी गएनौं ।'
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले एमालेका मुद्दालाई सम्बोधन गर्न एमालेकै संसदीय दलका नेतासँग मात्रै छलफल गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयाे । प्रधानमन्त्री र सभामुखले एमालेसँग मात्रै संवाद गरे छलफलमा बस्न तयार रहेको उहाँले बताउनुभयाे ।नेकपा एमालेको अहिलेको अवरोधको कारण सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको पनि उहाँले बताउनुभयाे ।
'अहिलेको हाम्रो अवरोध भनेको सभामुख व्यवहारप्रतिको आपत्ति, उहाँको निर्णयप्रतिको आपत्ति हो भने पछिल्ला दिनमा सरकारसँग पनि हाम्रो केही आपत्तिहरु थपिएका छन्, साउन ३२ गतेको दिन संसद् अधिवेशन अन्त्य गर्नुभयो, विगतमा हामीलाई पटकपटक संसद् छलेको आरोप लगाउने उहाँहरुले १ गते बिहानै अध्यादेश ल्याउनुभयो, त्यो पनि ४० बाट झारेर २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउनुभयो, हामीले ल्याउँदा संसद् छलेको हुने, उहाँहरुले ल्याउँदा नहुने ? कति भए पुग्छ भनेर हाम्रो दल विभाजन गर्नका लागि जुन हर्कत गरियो त्यसप्रति हाम्रो आपत्ति हो'- विशालकाे भनाइ छ ।
भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक संसद्मा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन र संविधान विपरित् तथा नैतिक दृष्टिकोणले पनि उचित नभएको बताउनुभयाे ।
