काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८' सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री देउवाले 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, 'सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७,अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले 'अध्यागमन विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८ पेस गर्नुहुनेछ ।
