काठमाडौं । सोमबारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले गर्नुभएको नियमापत्तिलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना खारेज गरिदिनुभएको छ ।
बैठकमा स्वतन्त्र सांसदका रुपमा विजयी नेकपा एकिकृत समाजवादीका सांसद् देवकोटाले राष्ट्रिय सभा बैठकमा अदालतमा विचाराधीन मुद्दाको विषयमा छलफल भएको भन्दै नियमापत्ति जनाउनुभएको थियो । उहाँले सभामुख विरुद्ध जथाभावी बोलेको भन्दै त्यस माथि समेत नियमापत्ति जनाउनुभएको थियो ।
राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले भने अदालतमा विचारधीन कुनै पनि विषय राष्ट्रिय सभामा प्रवेश नगरेको प्रष्ट पार्नुभयो । त्यसैले देवकोटाको नियमापत्ति खारेजयोग्य रहेको उहाँले बताउनुभयो ।
राष्ट्रि सभा बैठकमा अदालतमा विचारधीन मुद्दा प्रवेश नहुने र हुननदिने उहाँले बताउनुभयो । तिमल्सिनाले भन्नुभयो, ‘राष्ट्रिय सभामा सर्वोच्च अदालतमा विचाराधीन कुनै पनि विषयमा छलफल भएका छैनन् र हुने छैनन्, त्यसैगरी राष्ट्रिय सभाको कार्यासूचीमा त्यस्ता विषयहरु अहिलेसम्म प्रवेश पाएका पनि छैनन् र भविष्यमा पनि पाउने छैनन्, यसकारण माननिय सदस्यको नियमापत्ति खारेज योग्य छ ।’
