काठमाडाैं । प्रदेश-२ काे प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश सभाको सातौं अधिवेशन आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ । आजकाे बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुहुनेछ ।संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेश सभा सचिवालयलाई पत्र लेख्नुभएकाे थियाे । प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । जनता समाजवादी पार्टी विभाजन भएपछि मुख्यमन्त्रीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
प्रदेश-२ मा हाल जसपा, कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार छ । एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । प्रदेश सभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद् छन् ।
नेकपा एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षमा छन् ।
