काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विराेधबीच पनि प्रदेश सरकारले विधेयकमार्फत बजेट ल्याउन लागेकाे हाे । दिउँसाे १ बजे बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट पेस गर्नुहुने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा सबै क्षेत्रलाई सम्बाेधन गर्न लागिएकाे बताइएकाे छ । शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०७८-०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । साे बजेट कार्यान्वयन हुन नपाउँदै साउन २८ गते लुम्बिनीमा कुलप्रसाद केसीकाे नेतृत्वमा नयाँ सरकार बनेकाे थियाे ।
यसबीचमा नेकपा एमालेले कारबाही गरेका दुई सांसद्लाई सभामुखले कारबाही नगरेपछि प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएकाे छ । सूर्य चिन्हबाट निर्वाचित अजय शाही र विमला खत्री वलीलाई एमालेले निष्कासित गर्दै पदमुक्त गर्न प्रदेश सभामुख समक्ष पत्र लेखेकाे थियाे । तर सभामुखले कारबाहीकाे सूचना टाँस्नुभएन । एमालेले यस विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर पनि गरिसकेकाे छ ।
आजकाे बैठक पनि अवरुद्ध गर्ने एमालेकाे तयारी छ ।
