काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी र केन्द्र सरकारबाट प्रदेश २ सरकालाई सहयोग नभएको आरोप लगाउनुभएको छ ।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री राउतले कर्मचारीको अभाव र केन्द्र सरकारले प्रदेश सरकारलाई पर्याप्त बजेट नदिएको कारण सोचे जस्तो काम गर्न नसकेको बताउनुभयो ।
प्रदेश २ सरकारको आर्थिको घोटालासँग जोडिएको बेटी पढाउ, बेटी बचाउ अभियानको मुख्यमन्त्री राउतले बचाउ गर्नुभयो । कर्मचारीको असहयोगात्मक व्यवहारले बेटी बीमा कार्यक्रम प्रभाकारी रुपमा कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयो ।
बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गन साइकल वितरण कार्यक्रमलाई विवादमा ल्याइएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । साइकल कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै आएको र प्रदेश सभाले पास गरेको कार्यक्रम रहेको उहाँले बताउनुभयो । ‘मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने त होइन क्यारे, मुख्यमन्त्रीले बजेट खर्च गर्ने त होइन क्यारे’, उहाँले भन्नुभयो ।
विद्यालय पढ्ने छोरीलाई साइकल दिँदा उनीहरुको सुरक्षामा पनि सहयोग पुगेको उहाँले बताउनुभयो । यसमा प्रदेश सरकारले काहीँ अनियमितता नगरेको उहाँको भनाइ छ ।
मुख्यमन्त्रीलाई समेत जानकारी नदिई अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको उहाँको आरोप छ । राउतले आफूलाई विभिन्न खालका जाल र षडयन्त्रको सिकार बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्यालय प्रदेशको गरिमा भएको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको गरिमा माथि आँच पुर्याउने काम गरेको उहाँको भनाइ छ । साइकल खरिदको सबै कागज उपललब्ध गराइएकोले त्यसलाई हेर्न उहाँले प्रदेश सभा सदस्यलाई आग्रह गर्नुभयो ।
