काठमाडौं । प्रदेश २ का प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले संसद् नचलाई सरकारले काम गर्दा अनियमितता हुने बताउनुभएको छ ।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै चौधरीले संसदलाई नियमित चलाउँदा सरकारलाई सहयोग पुग्ने बताउनुभयो । प्रदेश २ को संसदले काम नै गर्न नपाएको भन्दै त्यसको वातावरण बनाउन उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो । ‘यो मञ्चलाई जागृत राखौँ, गत साल जस्तै वर्षमा २३ दिन चलाएर संसद् बन्द नगरौँ’, उहाँले भन्नुभयो ।
प्रदेश २ मा विकासका काममा धेरै अनियमितता भए पनि त्यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम नै गर्न नसकेको उहाँले बताउनुभयो । केही काम नै नगरी ठाउँ ठाउँमा करोडौँ रुपैँया झ्वाम पारिएको उहाँको भनाइ छ ।
अख्तियारका कर्मचारीले सेटिङमा काम गरी पैसा असुल गर्ने गरेको आरोप समेत चौधरीले लगाउनुभयो । ‘भन्छन् मान्छेले सेटिङ् छ रे उनीहरुको, सालको दुई चोटी बुझाउनु पर्छ रे’, चौधरीले भन्नुभयो ।
साइकिल खरिद प्रक्रियामा अख्तियारले सुरु गरेको छानविनको उहाँले स्वागत गर्नुभयो । मुख्यमन्त्रीले त्यसको आलोचना गरिरहेको बेला चौधरीले भन्नुभयो, ‘तपाईँ आफ्नो ठाउँमा ठीक हुनुहुन्छ भने गर्न दिनुस् न छानविन’, उहाँले भन्नुभयो ।
यो प्रकरणमा प्रदेश प्रमुख लालबाबु राउत डराउनुभएको पनि चौधरीले बताउनुभयो । ‘अलिकति आत्तिए जस्तो गर्नुभयो यहाँले, नआत्तिनुस् न, आत्तिनुभयो तपाईँ’, उहाँले भन्नुभयो ।
अख्तियारको छानविनलाई सहयोग गर्न उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्रीले नारा जुलुस गर्न लगाएर अख्तियारको कामलाई प्रभाव पार्न नहुने उहाँको सुझाव छ । ‘शान्तिपूर्वक त्यसलाई सामना गर्नुस्, यदि तपाईँ सही हुनुहुन्छ भने केही पनि गर्नसक्दैन, गलत गर्नुभएको छ भने गर्छन् उनीहरुले नियमानुसार’, उहाँले भन्नुभयो ।
अख्तियारको विरुद्ध गरिने नारा जुलुस कुनै पनि हालतमा सह्य नहुने उहाँले बताउनुभयो । ‘गल्ती गरेपछि सजायको भागी हुनुपर्छ’, उहाँले भन्नुभयो ।
