काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका लागि मन्त्रिपरिषद्मा कोटा छुट्याइएको भन्ने विषय सत्य नभएकाे दाबी गरेकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारमा प्रधानन्यायाधीशले भाग मागेको दाबी झुठ भएकाे बताउनुभयाे । नेमकिपा सांसद् प्रेम सुवालले उठाएकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री कार्कीले साे दाबी गर्नुभएकाे। 'म उहाँलाई सम्मानित सदनमार्फत भन्न चाहान्छु यस भनाइमा सत्यता छैन,भ्रममा नपर्नुस्'- मन्त्री कार्कीले भन्नुभयाे ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित प्रतिनिधि सभा पुर्नस्थापना गर्ने काम गरे वापत प्रधानन्यायाधीशबाट मन्त्रीको भाग किन खोजिएको भन्दै सुवालले प्रश्न गर्नुभएकाे थियाे । 'प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाद्धारा परमादेशको पारिश्रमिक दुई जना मन्त्री भाग मागियो, सर्वोच्चले होइन भन्यो, प्रधानन्याधीशको सिफारिसमा मन्त्री हुने दुई जनाको नाम समेत सार्वजनिक हुँदा यो होइन भन्न गाह्रो भयो, हावा नचलि पात हल्लिन्न'- सुवालकाे भनाइ छ ।
यो विषय गम्भीर विषय भएको भन्दै सुवालले सदनमा छलफल गर्न माग गर्नुभयाे । ‘प्रधानन्याधीशबाट भएको यो गतिविधि विरुद्ध जनताको सर्वोच्च संस्था संसद्मा महाअभियोग प्रस्ताव किन नआएको ?'- सुवालले प्रश्न गर्नुभयाे ।
