काठमाडौं । नेकपा एमालेका सांसद्को विरोधकै बीच प्रतिनिधि सभाबाट निजामति विधेयक फिर्ता लिने प्रस्ताव पास भएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री एवं सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट सो प्रस्ताव पेश गर्नुभएको थियो ।
उक्त प्रस्ताव माथि सांसद् प्रेम सुवालले विरोधको सूचना दर्ता गराउनुभएको थियो । उहाँले संसदमा आएको विधेयक फिर्ता गरी अध्यादेशबाट सरकार चलाउनेकार्य निरंकुश भएको बताउनुभयो । उहाँले सरकारको गतिविधिबाट पञ्चायतको पुनारवृत्ति भएको बताउनुभयो । उहाँले विरोधको सूचाना फिर्ता नलिने बताउनुभएको थियो ।
प्रतिनिधि सभामा सो विषयमा छलफल भइरहँदा एमाले सांसदले भने रोष्टम अगाडि उभिएर विरोध जनाएका थिए । सभामुखले संविधान विपरित काम गरेको भन्दै एमाले सांसदले लगातार प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
सभामुखले प्रतिनिधि सभामा पेश गर्नुभएको सो प्रस्ताव बहुमतले पास भएको घोषणा गर्नुभएको थियो ।
यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन ’रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव पनि बैठकबाट पास भएको छ । सो प्रस्ताव पनि मन्त्री कार्कीले पेस गर्नु भएको थियो । प्रस्ताव माथि सांसद् प्रेम सुवालले विरोधको सूचना दर्ता गराउनुभएको थियो ।
