काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सरकार उल्टाे बाटाेतर्फ लागेकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले संसदीय समितिमा लामो समय छलफल भएर सदनमा पेस भएको बिधेयक फिर्ता लिनु गलत रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अहिले जे भएकाे छ,त्याे एकदमै बेठिक भएकाे छ,निजामती सेवा विधेयक लामाे समय समितिमा छलफल भयाे,बल्लबल्ल सदनमा प्रवेश गर्याे,यतिन्जेल रह्याे, अहिले आएर सरकारले फिर्ता लियाे,याे साह्रै बेठिक र उल्टाे काम भएकाे छ ।' सदनमा बिधेयक नै नल्याउने र भएकाे बिधेयक फिर्ता लैजाने काम सरकारले गरेकाे बताउँदै नेम्वाङले भन्नुभयाे - 'देश अध्यादेशकाे दिशामा जान लागेकाे हाे भने याे उल्टाे बाटाे हाे,गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै ।'
एमालेको विरोधका कारण बिधेयक फिर्ता लिएको भन्नु हास्यास्पद मात्र भएकाे नेम्वाङले बताउनुभयाे । आफ्नो मुद्दा लिएर सदनमा एमालेले विराेध गरेकाे प्रष्ट पार्दै उहाँले विरोधको औचित्य पूष्टि गर्न आफूहरु तयार रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीले अवराेध गरेका हाैं विवादै छैन, त्यसकाे औचित्य हामीले स्थापित गर्नुपर्छ, त्यसमा उठेका प्रश्नकाे जवाफ हामीले दिनुपर्छ म त्यसबाट पछि हट्दिन विनम्रतासाथ स्वीकार गर्छु, तर मेराे प्रश्न छ हाम्राे अवराेधले के राेकिएकाे छ ? आर्थिक विधेयक पास गर्नुभयाे बजेट पास गर्नुभयाे जबरजस्ती, सबै काम गर्दै हुनुहुन्छ, हुँदाहुँदा जुनुसुकै प्रकारकाे लगानी ल्याउ त्यसकाे आयस्राेत खाेजिँदैन भन्नेसम्मका काम गर्नुभएकाे छ,कुन चाँहि काम राेकिएकाे छ ? दल फुटाउने अध्यादेश ल्याउनुहुन्छ ।'
त्यसकारण एमालेका कारण कुनै काम नराेकिएकाे बताउँदै नेम्वाङले भन्नुभयाे - 'हामीमाथि आराेप लगाउनुहुन्छ भने त्याे हास्यास्पद मात्र हाे ।' शुक्रबारको प्रतिनिधि सभा बैठकबाट सरकारले संघीय निजामती सेवा बिधेयकसहित दुई बिधेयक फिर्ता लिएकाे छ ।
